करिब ५० वर्षपछि हिजो आफूले अध्ययन गरेको सुर्खेतस्थित जन नमुना माध्यमिक विद्यालय (जनमावि) पुग्ने अवसर मिल्यो।
कुनै बेला ‘जन व्यावसायिक माध्यमिक विद्यालय’ नामले चिनिने यो विद्यालय अहिले ‘जन नमुना माध्यमिक विद्यालय’ का रूपमा परिचित छ । सुर्खेतमा बसोबास गरेकी (हाल नेपालगन्ज निवासी) बहिनी द्रोपता, जेठो छोरा वेदप्रकाश, वीरेन्द्रनगरमा जन्मिएका भान्जा महेश जोशी र नातिआदि (भान्जा महेशका छोरा) का साथमा विद्यालय परिसरमा पुग्दा पुराना स्मृतिहरू एकपछि अर्को गर्दै ताजा भएर आए। अझै अस्तित्वमा रहेका सालका पुराना रूखहरूको फेदमा पुगेर उहिलेका दिनहरू सम्झिएँ।
बाल्यकालका ती अविस्मरणीय क्षणहरू आँखाअगाडि भिडियोका दृश्यझैँ फनफनी नाच्न थाले। लाग्यो, समय त बितेछ, तर ती सम्झनाहरू अझै मनको कुनै कुनामा जस्ताको तस्तै सुरक्षित रहेछन्। त्यतिबेलाका मेरा श्रद्धेय गुरुहरू-हेडसर केबी रेग्मी, कालीप्रसाद पाण्डे, पदमराज देवकोटा, श्यामबहादुर जिसी र शिवनारायण बीसीलाई विशेष रूपमा सम्झिएँ। उहाँहरूले दिनुभएको शिक्षा, प्रेरणा र मार्गदर्शनप्रति मनैदेखि श्रद्धा व्यक्त गरेँ। सँगसँगै विद्यालय जीवनका प्रिय साथीहरूको पनि याद आयो। धर्मराज पाठक ( बाबियाचौर ) , नीलकमल सुवेदी, कमला भारती, लक्ष्मी पौडेल, सीता बीसी, शर्मिला श्रेष्ठ, उमा कार्की, दीपक सिंह ( बझाङ ) दुर्गा (थर याद भएन) लगायत सबै साथीहरूलाई सम्झिएँ। समयले हामीलाई कहाँबाट कहाँ पुर्यायो, जीवनका बाटाहरू पनि फरक भए। तर सुर्खेतमा बिताएका विद्यालय जीवनका ती दिनहरू साँच्चै अनमोल रहेछन्।
ती गुरुहरू, ती साथीहरू, त्यो विद्यालय र सालका रूखहरूसँग जोडिएका स्मृतिहरू जीवनभर अविस्मरणीय छन्। समय बितेर जान्छ, उमेर ढल्दै जान्छ, तर बाल्यकाल र विद्यार्थी जीवनका सम्झनाहरू कहिल्यै पुराना हुँदैनन्।









