अहिले जसरी जोडँछ यसले,
समुन्द्र वारि पारीको माटोलाई
आफ्नै मान्छेका सुवासलाई ।
यो नहुँदा उहिले उहिले
त्यसरी नै अलगाउथ्यो,
समुन्द्रका स -साना लगुनहरुलाई
अझ गोरा साबका शासनका कुर्सीहरुलाई
दास रैतीहरु सङ्ग,
उनिहरुका डरलाग्दा अजङ्गका सबका सब
बिपना- सपनाहरुलाई ।
मानौ,
हिजो त्यै समुन्द्रका लगुन हुँदै
आउने भिमकाय रोयल नेभीका जहाजहरुमा , उनिहरु बेचिन्थे
उनिहरुकै मान्छे बाट
गोरासाबहरु लाई,
माचिसको बट्टा सङ्ग
वाइनको बोत्तल सङ्ग
वा भनौ थोरै कम्पनी सिक्का संग।
र पुग्थे पर पर जन्जीरले बाँधिएर
आफ्नैं माटोबाट ।
गोरासाबका श्रम शिबिरमा
धेरै पशु भएर
अलिकति मान्छे भएर ।
आज,
स्वाधिनताको गौरवमा,
टाँपुहरुलाई जोडदै रहेको
यो लेक्की पुल
पर पर
जङ्गल छेउका
मरुभुमी छेउका
आफ्नै अभाव र भोकले रन्थिएका
बस्तीहरुलाई ।
यो शहरको वैभव देखाउदै रातभरी अँनिदो भएर
पुराना मालिकहरु सङ्ग कुममा कुम जोडदै नाच्ने सम्भ्रान्तहरुलाई ओहर दोहर गराउछ ।
आफ्नो झलमल भइरहने,
अजङ्गको छातीबाट
जसरी तराँउछ,
दिनभर पसिना बोक्ने र शरीरमै सुक्ने श्रमिकका ताँतीहरुलाई । महादेशकै ठुलो अर्थतन्त्र
बोकिरहेको गर्वमा,
जोडदै समुन्द्र र माटोलाई
जमिन र जिजिबिषालाई
यो लेक्की पुल ।
२६ मे , २०२० लेगोस , नाइजेरिया ।
लेक्की पुल : लेगोस सहरका दुई टापुलाई जोडने पुल ।
लगुन : समुन्द्रका साना साना हाँगाहरु ।









