स्वदेशी उत्पादन प्रवर्द्धन गर्न नेपालगन्जमा ‘तिहार उत्सव–२०८३’ सुरु

असल शासन प्रतिनिधि

नेपालगन्ज । स्वदेशी उत्पादनको प्रवर्द्धन, स्थानीय उद्यमीलाई प्रोत्साहन तथा स्थानीय उत्पादनको बजारीकरण गर्ने उद्देश्यले नेपालगन्जस्थित कोशेलीघरमा आजदेखि ‘तिहार उत्सव–२०८३’ सुरु भएको छ।

महिला उद्यमी संघ बाँकेद्वारा सञ्चालित कोशेलीघरको आयोजनामा सुरु भएको उत्सव तिहार पर्वलाई लक्षित गरी सञ्चालन गरिएको हो। उत्सवमा स्थानीयस्तरमा उत्पादित विभिन्न वस्तु तथा सामग्री प्रदर्शनी र बिक्रीका लागि राखिएका छन्। घरेलु तथा हस्तकलाका सामग्री, स्थानीय खाद्य परिकार, परम्परागत वस्तु, तिहारमा प्रयोग हुने सामग्रीलगायत स्वदेशी उत्पादनलाई प्राथमिकता दिइएको छ।

पछिल्लो समय बजारमा आयातित वस्तुको प्रयोग बढ्दै गइरहेका बेला स्थानीय उत्पादनको प्रयोग र उपभोगलाई प्रोत्साहन गर्ने उद्देश्यले उत्सव आयोजना गरिएको आयोजकले जनाएको छ। यसले स्थानीयस्तरमा उपलब्ध स्रोत, सीप र प्रविधिको उपयोग गरी उत्पादन गरिएका वस्तुको पहिचान र बजार विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

उत्सव महिला उद्यमी, घरेलु उद्योग तथा साना उत्पादकका लागि आफ्ना उत्पादन उपभोक्तामाझ चिनाउने र बिक्री गर्ने अवसरका रूपमा समेत रहेको छ। विशेषगरी महिलाले सञ्चालन गरेका उद्यम तथा व्यवसायबाट उत्पादित सामग्रीलाई बजारसँग जोड्न यस्ता कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

स्थानीय उत्पादनको प्रवर्द्धन केवल वस्तुको बिक्रीमा मात्र सीमित नभई स्थानीय सीप, श्रम, कला, संस्कृति र उद्यमशीलताको संरक्षणसँग पनि जोडिएको विषय हो। तिहारजस्तो सांस्कृतिक महत्त्व बोकेको पर्वमा स्थानीय उत्पादनलाई प्राथमिकता दिन सके स्थानीय उत्पादकको आम्दानी बढाउनुका साथै स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने देखिन्छ।

याे उत्सव कार्तिक १९ गतेसम्म सञ्चालन हुनेछ ।

‘तिहार उत्सव–२०८३’ ले उपभोक्तालाई स्वदेशी वस्तु प्रयोग गर्न प्रेरित गर्नुका साथै महिला उद्यमीका उत्पादनलाई बजारमा स्थापित गर्न र स्थानीय उद्यमशीलताको विकासमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

  • १९ कार्तिक २०८३, बुधबार प्रकाशित

  • Nabintech