दैलेख । दैलेखको ठाटीकाँध गाउँपालिका–४, धन्कोटमा हँसिया प्रहारबाट एक महिलाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्।
आज बिहान करिब ५ बजे घरमै प्रवेश गरी गरिएको आक्रमणमा परी अन्दाजी ४५ देखि ५० वर्षीया बबी पुनको घटनास्थलमै मृत्यु भएको हो।
घटनामा अन्दाजी ३५ वर्षीया मैसरा पुन गम्भीर घाइते भएकी छन्। उनको एउटा हात काटिएको र अर्को हातमा समेत गम्भीर चोट लागेको बताइएको छ। अन्य घाइतेमध्ये मृतककी अन्दाजी १५ देखि १७ वर्षीया छोरी तिला पुनसहित तीन जना रहेका छन्।
घटनामा संलग्न रहेको आरोपमा अन्दाजी ३५ देखि ३७ वर्षीय बजिर रावललाई प्रहरीले नियन्त्रणमा लिएको छ।
घाइतेहरूलाई एम्बुलेन्समार्फत थप उपचारका लागि सुर्खेत रिफर गरिएको छ। मृतकको शव पोस्टमार्टमका लागि दुल्लु पठाउने तयारी भइरहेको छ।
घटना के कारणले भएको हो भन्नेबारे खुल्न बाँकी रहेको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ भने विस्तृत विवरण आउन बाँकी छ।









