प्रिय छोरी र छोरा,
तिहार फेरि हाम्रो आँगनमा आइपुगेको छ । घरवरिपरि उज्यालो छ, बजारमा चहलपहल छ, अरूका घरमा हाँसो र उमङ्गका स्वर गुञ्जिरहेका छन् तर आफ्नै घर भित्र भने एउटा अनौठो सन्नाटा फैलिएको छ । यसपटकको तिहारमा पनि तिमी दिदीभाई सँगै छैनौं । तिमीहरूले एउटै थालबाट मिठाई बाँडेर खाने अवसर मिलेको छैन । तिमीहरू दुई फरक देशका आकाश मुनि आफ्नो भविष्य खोजिरहेका छौ, हामी भने यही पुरानो घरको आगनमा तिमीहरू फर्किने कल्पना साँचेर बसेका छौँ ।
छोरी तिमी एउटा देशमा छौ भने छोरा तिमी अर्को देशमा । एउटै आमाको कोखबाट जन्मिएका तिमीहरूलाई समय र परिस्थितिले दुई फरक भूगोलमा पुर्याएको छ । तिमीहरूका देश फरक छन्, दिनचर्या फरक छ, समयको अन्तर पनि फरक छ तर तिमीहरूलाई सम्झेर धड्किने यो आमाको मुटु एउटै छ । कहिलेकाहीँ लाग्छ, मेरो मातृत्व पनि दुई देशको सीमामा बाँडिएको छ कि क्या हो ! छोरीलाई सम्झँदा छोराको अनुहार आँखामा आउँछ । भिडियोकलमा आवाज सुन्नासाथ र देख्ना साथ सधै तिमीहरूको बाल्यकाल सम्झिन्छु । चाडपर्व आउँदा घर सफा गर्छु, आँगन सफा गर्छु र तिमीहरूलाई मन पर्ने परिकार बनाउने पुरानो बानी पनि छोड्न सकेकी छैन । भान्सामा केही पाकिरहँदा लाग्छ, आज छोरीले यो मीठो मानेर खाने थिई, छोराले त्यो परिकार फेरि थपेर खाने थियो तर खाना तयार हुन्छ, थाल सजिन्छ, समय बित्छ । भान्सामा खाली कुर्सीहरू भने तिमीहरूकै नाममा मौन बसिरहेका छन् ।
अरूका छोराछोरीहरू चाड मनाउन घर फर्किएको देख्दा मनले आफूलाई सम्हाल्न खोज्छु । कसैकी छोरी आमाको अँगालोमा बेरिएकी छे, कसैको छोरो बुबाको छेउमा बसेर बिदेशका अनुभव सुनाइ रहेको छ । कतै दिदीभाइको हाँसोले घर गुञ्जिएको छ । ती दृश्य देख्दा खुसी पनि लाग्छ, तर आफ्नै आँगन सम्झिए पछि आँखाका डिल भरिएर आउँछन् । अरूको खुसीमा रमाउन चाहने मन आफ्नै सन्तानको अभावमा एकाएक भक्कानिन्छ । यो डाह होइन, कसै प्रतिको गुनासो पनि होइन । केवल आफ्ना सन्तानलाई एकै ठाउँमा देख्न नपाएको आमाको स्वाभाविक व्यथा हो ।

तिमीहरूलाई सम्झेर आँखा भिजेका दिनको हिसाब राखेकी छैन । कहिले फोनको घण्टी बज्दा हतारिँदै उठ्छु, कहिले भिडियो कलमा तिमीहरूको अनुहार देखे पछि केही बेर बोल्नै सक्दिनँ । धेरै कुरा सोध्न मन लाग्छ, तर तिमीहरू थाकेका छौ कि भन्ने लागेर आफ्ना प्रश्नहरू आफैँ भित्र थुनेर राख्छु । तिमीहरूलाई दुःख नहोस् भनेर आफ्नो दुःख लुकाउनु पनि सायद आमाको प्रेमको एउटा मौन भाषा रहेछ । तिमीहरू परदेशिनु हाम्रो इच्छा विपरीतको निर्णय थिएन । राम्रो शिक्षा हासिल गर, श्रमको सम्मान गर, आत्मनिर्भर बन र आफ्नो जीवनको सुन्दर जग बसाल भन्ने चाहनालेनै तिमीहरूलाई टाढा जान दिएका थियौं । तिमीहरूको उन्नति नै हाम्रो गौरव हो ।
तिमीहरूले आफ्नै पौरखले बनाएको परिचयमा हामीले आफ्नो जीवनको कमाइ देखेका छौँ । त्यसैले कहिल्यै आफ्नो सपनाको बाटोमा हाम्रो सम्झनालाई बोझ नबनाउनु नानुबाबु । तर एउटा कुरा चाहिँ मनमा राख्नु, सफलताको शिखर चुमिरहँदा आफ्नो अस्तित्वको पहिलो आधार बनेको घर र त्यहाँ प्रतीक्षा गरिरहेका सम्बन्धहरूलाई नबिर्सनु ।
जीवनमा धन कमाउने अवसर फेरि आउन सक्छ, नयाँ घर बनाउन सकिन्छ, नयाँ सम्बन्धहरू जोड्न सकिन्छ तर बाल्यकालको आँगन, बुबाको काँध, आमाको काख र दिदीभाइले सँगै बिताएका ती निश्चिन्त क्षणहरू फेरि किनेर ल्याउन सकिँदैनन् । समयले हामी सबैलाई बिस्तारै बदलिरहेको छ । हिजो तिमीहरूलाई हात समाएर हिँड्न सिकाउने हातहरू आज विस्तारै कमजोर हुँदैछन् । हिजो तिमीहरूको सानो चोटमा रातभर जाग्ने यी आँखाहरू आज तिमीहरूको एउटा फोनको प्रतीक्षामा साँझ काटिरहेका छन् ।
हामीलाई महँगो उपहार चाहिएको छैन, विदेशबाट पठाइएका सामानले घर भर्नु पनि छैन । कहिलेकाहीँ फुर्सद निकालेर गरेको एउटा आत्मीय फोन, थकाइ बिर्साएर सुनाएको एउटा हाँसो र आमाबुबा हजुरहरूलाई कस्तो छ ? भन्ने सानो प्रश्ननै हाम्रा लागि अमूल्य उपहार हुन्छन् । सम्भव भएसम्म चाडपर्वमा घर फर्किनु । त्यो सम्भव नभए पनि तिमीहरूका मनले हामीसँगै बसेर चाड मनाएको कल्पना गर्नु । किनकि परिवारको अर्थ एउटै छाना मुनि बस्नु मात्र होइन, एकअर्काको सुखदुःखमा मनबाट उपस्थित भइरहनु पनि हो ।
प्रिय छोराछोरीहरू, यसपालि पनि हाम्रो टीका छैन, तिमीहरू दिदीभाईको निधारमा टिका नहोला तर, तिमीहरू जहाँ छौ, त्यहीँबाट हाम्रो आशीर्वाद र माया ग्रहण गर्नु । आफ्नो स्वास्थ्यको ख्याल गर्नु, परिश्रमलाई सम्मान गर्नु र दिदीभाईको सम्बन्धलाई पनि उत्तिकै जोगाइराख्नु ।
अन्त्यमा, तिमीहरूलाई एउटा कुरा भन्न मन छ । आमाबाबुको घर सन्तान फर्किए पछि मात्र भरिने ठाउँ होइन, सन्तान फर्किने आशा बाँचेको ठाउँ हो । हाम्रो घरको ढोका आज पनि खुलै छ । आँगनमा तिमीहरूका बाल्यकालका पदचिह्नहरू अझै सम्झनामा ताजा छन् । भित्ताहरूमा तिमीहरूका हाँसोका प्रतिध्वनि बाँकी छन् ।
हामीसँग अहिले पनि धेरै कुरा छन्, सुनाउन र सुन्न । केवल तिमीहरूलाई एकै ठाउँमा राखेर ती कुरा गर्ने अवसर छैन । समयले कति प्रतीक्षा दिन्छ, थाहा छैन । त्यसैले फर्किने दिनलाई सधैँ भोलिका लागि नसार्नु । किनकि चाडपर्व हरेक वर्ष आउँछन्, तर बितेर गएको समय र उमेरले पर्खेर बस्दैनन् । कुनै दिन घर फर्किंदा स्वागत गर्ने आमाबुबाको हात र आवाज पहिले झैँ नहुन पनि सक्छन् । तिमीहरूको भविष्य उज्यालो होस् । परदेशको कर्मभूमिमा सफलता मिलोस् । तर आफ्नो जन्मभूमिको माटो, पारिवारिक आत्मीयता र आमा बुबाको प्रतीक्षालाई हृदयबाट कहिल्यै टाढा नपार्नु ।
तिमीहरू दुवैलाई एउटै अँगालोमा बाँधेर चाडपर्व मनाउने रहर बोकेकी, तिमीहरूकै आमा – पार्वती पौड्याल ‘पारू’









