ममताका नाममा चुहाउन नरेशसँग एक थोपा नक्कली आँसुसमेत थिएन—सरकारी अभियोजक सारा सामीको यो व्यङ्ग्यले कसको मन बिझाउदैन । एकातिर छोरीको अन्तिम संस्कारसमेत गर्न नपाएको परिवारको पीडा, अर्कोतिर श्रीमतीको शब टुक्र्याएर लुकाएको स्वीकार गर्ने श्रीमान् । त्यही अदालतमा रातो ब्लेजर लगाएर उभिएकी सामीको प्रश्न थियो—श्रीमतीलाई मृत अवस्थामा भेटेको भए आपत्कालीन सहायता नम्बर ९११ मा फोन किन गरिएन ?
ममता काफ्ले हत्या मुद्दाको अन्तिम बहसमा सामीले नरेशको कथालाई यही प्रश्नले चुनौती दिइन् । डराएको थिएँ भन्ने दाबी र त्यसपछि शव टुक्र्याएर लुकाएको व्यवहारबीचको विरोधाभास उनले ज्युरीसमक्ष राखिन्। सुनौलो रङका बटन भएको रातो ब्लेजर, बुट्टेदार सेतो सर्ट र पछाडि बाँधिएको कपाल । झट्ट हेर्दा सारा सामी कुनै मोडल जस्ती देखिन्थिन । जव उनले नरेशलाइ नै पोइन्ट गर्दै तिखा प्रश्न गरिन उनी काविल वकिल हुन र कानुनी अक्षर मात्र होइन मानवीय भावना पनि समेट्छिन भन्ने प्रस्ट पारिन ।

अदालतको तस्बिरमा उनी अगाडिको कागजमा हात राखेर एकातिर फर्कँदै बहस गरिरहेकी देखिन्छिन्। पछाडि न्यायाधीश किम्बर्ली इर्भिङ बसेकी छन्। करिब ४७ मिनेटको बहसमा सामीले स्लाइडमार्फत सन्देश, प्रहरीसँगका अन्तर्वार्ता, भिडियो र ममताले भोगेको हिंसासम्बन्धी प्रमाण प्रस्तुत गरिन् । साराले पटकपटक नरेशतर्फ औँल्याउँदै, उनलाई सीधै हेर्दै प्रश्न गर्थिन् । कतिपय दाबीमा उनको प्रतिक्रिया हुन्थ्यो—“Are you kidding me?” अर्थात्, यस्तो कुरा कसरी पत्याउने? बहसको सुरुमै उनले नरेशले ममतालाई पठाएको धम्कीपूर्ण सन्देश सम्झाइन् ।
फोन, पैसा र गाडीको पहुँचमा गरिएको नियन्त्रणको प्रसङ्ग उठाउँदै ममता आफ्नै घरभित्र कस्तो डरमा बाँचेकी थिइन् भन्ने तर्क राखिन्।तर उनको बहसको सबैभन्दा मर्मस्पर्शी कुरा परिवारसँग जोडिएको थियो। ममताको अवशेष अझै फेला परेको छैन । परिवारलाई उनको मृत्यु भएको थाहा छ, तर अन्तिम संस्कार गरेर बिदाइ गर्नसमेत पाएको छैन। सामीले अदालतलाई यही अधुरो बिदाइको मर्मस्पर्सी पीडा सम्झाइन् ।
उनको मन ममताकी आमातिर जान्छ। छोरी फर्किन्नन् भन्ने स्वीकार गर्नुपर्ने, तर उनको शरीर कहाँ छ भन्नेसमेत थाहा नहुने। अन्तिमपटक छुन, सुमसुम्याउन र आफ्नो संस्कारअनुसार बिदाइ गर्न पनि नपाउने। न्यायको फैसला आएपछि पनि त्यो पर्खाइ कहाँ सकिन्छ र ? सामीले उठाएको अर्को तर्क पनि मनमा गढेर बस्छ—आत्महत्याको दाबीमार्फत नरेशले मृत्युपछि पनि ममताको कथा आफ्नो अनुकूल बनाउन खोजिरहेका थिए । त्यसको प्रतिवाद गर्न सक्ने ममता अब जीवित थिइनन्।
आफ्नो पीडादायी कथा सुनाउन ममता आफैँ अदालतमा उपस्थित हुन सकिनन् । तर उनका सन्देश, उनको जीवनका साक्षी र प्रमाणमार्फत उनको कथा सुनियो। सामीले त्यस कथालाई शब्द दिइन्, प्रश्न गरिन् र जवाफ मागिन् । ममताका पक्षमा दृढतापूर्वक उभिने सारा सामीसहित न्यायका लागि खटिने सबैप्रति सम्मान । ममताकी आमाको काख र उनकी छोरीको जीवनमा परेको रिक्तता कुनै फैसलाले भर्न सक्दैन । तैपनि, ममतामाथि भएको अपराधको जवाफ माग्ने आवाज अदालतमा सुनियो । त्यो आवाज दबिन पाएन। यो पनि चानेचुने उपलब्धी होइन ।









