रुकुम / जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पमा परी कम्तीमा ६५ जनाको मृत्यु भएको प्रशासनले पुष्टी गरेको छ। जाजरकोटको विभिन्न स्थानमा ३७ र रुकुमपश्चिममा २८ जनाको मृत्यु भएको छ।
जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जाजरकोटमा मात्रै ३७ जनाको मृत्यु भएको बताएका छन्। यस्तै रुकुमपश्चिममा अहिलेसम्म २८ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताए। भूकम्पमा परी १०० भन्दा बढी घाइते भएका छन्। रातिको समयमा भुकम्प गएकाले क्षती बढ्न सक्ने बताईएको छ ।
यसैगरी भुकम्पमा परि घाईते भएकाहरुको जिल्ला अस्पताल जाजरकोटमा उपचार भईरहेको जिल्ला अस्पताल जाजरकोट अस्पताल विकास समितिका अध्यक्ष डम्बर सिंहले जानकारी दिएका छन् । गम्भिर घाईतेहरुलाई नेपालगन्ज रेफर गरि पठाउन थालिएको उनले असल शासनलाई जानकारी दिएका छन् । घाईतेको उद्धार र राहतमा सबैलाई सहयोग गर्न अध्यक्ष सिंहले अपिल समेत गरेका छन् ।
शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको थियो ।