नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २० अन्तर्गत थपुवा जाने सडक निर्माण कार्यको औपचारिक शुभारम्भ गरिएको छ। मिति २०८३ साल बैशाख २० गते वडा अध्यक्ष कौशल कुमार धोबी को उपस्थितिमा तथा स्थानीय बासिन्दाको सक्रिय सहभागितामा उक्त सडकको उद्घाटन भई निर्माण कार्य सुरु गरिएको हो।
निर्माण समितिका सदस्य टिकाराम अधिकारी का अनुसार, सडक निर्माण कार्य आगामी जेठ महिनाको पहिलो हप्ताभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। नगर सरकार तथा वडा कार्यालयको पहलमा करिब २५ लाख रुपैयाँको लागतमा नाला सहितको ग्राभेल सडक निर्माण गरिने जानकारी दिइएको छ। वडा अध्यक्ष धोबीले बाँकी संरचनात्मक सुधार तथा स्तरोन्नतिको कार्य आगामी बजेटमार्फत क्रमशः अगाडि बढाइने उल्लेख गरे।
लामो समयदेखि निर्माण हुन नसकेको यस सडकका कारण स्थानीयवासीले विभिन्न सास्ती भोग्दै आएका थिए। सडकको विषयमा असल शासन डटकमलेमा पटकपटक समाचार प्रसारण प्रकाशन गरेको थियो ।
अब निर्माण कार्य सुरु भएसँगै स्थानीयमा खुशीको वातावरण छाएको छ। साथै, स्थानीय सरकार तथा जनप्रतिनिधिप्रति धन्यवादसमेत व्यक्त गरिएको छ।









