१७ वर्षीया किशोरी हत्या प्रकरणः ‘बलात्कारपछि हत्या’, परिवारले शव बुझ्न मानेनन्

भागरथीको शव फेला परेपछि पूरै गाउँ शोकमा डुबेको छ। गत बुधबार विद्यालय गएकी भागरथी साँझ घर नफर्केपछि खोजी गर्नेक्रममा बिहीबार साँझ स्थानीय लवलेक जङ्गलमा शव फेला परेको थियो।

असल शासन प्रतिनिधि

बैतडी– जिल्लास्थित दोगडाकेदार गाउँपालिकास्थित जंगलमा हत्या गरिएको अवस्थामा फेला परेकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या गरिएको आशंका गरिएको छ । भागरथी विभत्स अवस्थामा फेला परेकीले बलात्कार गरी हत्या गरिएको आशङ्का आफन्तले गरेका हुन् ।

भगीरथीको कपडा च्यातिएको, तल्लो भागको कपडा घुँडादेखि तलसम्म खोलिएको, शरीरमा निलडाम, घाउ, यौनाङ्गमा रगत देखिएको, घाँटी निमोठेको अवस्थामा शव फेला परेपछि आफन्तले बलात्कारपछि हत्या भएको मृतकका काका शिवराज भट्टले बताए। भागरथीको शव परीक्षण सम्पन्न भए पनि परीक्षणको रिपोर्ट एक दुई दिनभित्रै आउने जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वशन्तराज जोशीले बताएका छन् भने परिवारजनले शव बुझ्न मानेका छैनन् । मृतकका काका शिवराज भट्टका अनुसार अपराधी पत्ता नलागेकोले शव नबुझिएको हो ।

किशोरीको बलात्कारपछि हत्या भएको प्रारम्भिक अनुमानअनुसार प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । घटना घटेको क्षेत्रमा सो दिन हिँडडुल गर्नेलाई सोधपुछ गर्ने लगायतका कार्य गरिहेको प्रहरीले जनाएको छ । गम्भीर प्रकृतिको घटना भएकाले अनुसन्धानलाई पनि तीव्र बनाएको प्रहरीले जनाएको छ। अनुसन्धानका लागि एसएसपीको नेतृत्वमा छुट्टै प्रहरी टोली जिल्ला पुगेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक जनकराज पाण्डेको नेतृत्वमा प्रहरी टोली पुगेर अनुसन्धान प्रक्रिया अघि बढाइएको हो । अनुसन्धानमा सघाउन एसएसपीको नेतृत्वमा छुट्टै प्राविधिक टोली परिचालन गरिएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए।

भागरथीको शव फेला परेपछि पूरै गाउँ शोकमा डुबेको छ। गत बुधबार विद्यालय गएकी भागरथी साँझ घर नफर्केपछि खोजी गर्नेक्रममा बिहीबार साँझ स्थानीय लवलेक जङ्गलमा शव फेला परेको थियो।

 

 

यो पनि पढ्नुहोस् 

१७ वर्षीया किशोरी हत्या प्रकरणः शंकास्पद ६ जना नियन्त्रणमा

१७ वर्षीया किशोरीको शव फेला, एसएसपीको नेतृत्वमा टोली परिचालन

  • २५ माघ २०७७, आईतवार प्रकाशित

  • Nabintech