अपडेटः सहमति हुन नसकेपछि पुनः पूर्वपश्चिम राजमार्ग अवरुद्ध

असल शासन प्रतिनिधि

नेपालगन्ज/ सोमबार ढकेरीमा टिप्परको ठक्करबाट मृत्यु भएका परिवार र आफन्तले राप्ती सोनारी गाउँपालिका ८ बालापुर चोकमा आगो बालेर चक्का जाम गरेका छन् ।

दोषीलाई कडा भन्दा कडा कारबाही हुनु पर्ने, पीडितलाई क्षतिपूर्तिका लागि पहल गरिने भने पनि टिप्पर मालिक सम्पर्कमा नआएकाले उनीहरुले पुनः पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका हुन् । मंगलबार दिउँसो केहीबेर सहमतिका लागि स्थानीयले बन्द फिर्ता लिए पनि माग पूरा नभएको भन्दै पुनः साँझ साढे ५ बजेबाट सडक अवरुद्ध पारेका हुन् ।

दुर्घटनामा घाइतेको पूर्ण रूपमा उपचार हुनु पर्ने, मृतकका परिवारले क्षतिपूर्ति पाउनु पर्ने र छोराछोरीको शिक्षाको ग्यारेन्टी हुनु पर्ने माग पीडित पक्षको रहेको छ । मृतकका दुईओटा वृद्ध आमा छन् भने मृतकको श्रीमती मुटु रोगबाट ग्रसित छिन् । घरको कमाउने एक मात्र व्यक्ति सडक दुर्घटनामा अकालमै मरेपछि घर परिवारको भरणपोषणमा समस्या आएको मृतकका आफन्त भूपेन्द्रबहादुर खड्काले बताए । उनका अनुसार पीडक पक्षले परिवारको भरणपोषणको पनि जिम्मा लिनु पर्छ । जबसम्म पीडितको माग पूरा हुँदैन तबसम्म मृतकको लाश पनि नबुझने अडान मृतकका आफन्तले लिँदै आएका छन् ।

पश्चिमबाट पूर्व जाँदै गरेको ना८ख ५४५६ नम्बरको ट्रकले विपरीत दिशातर्फ गइरहेको भेप३७५५ नम्बरको मोटरसाइकललाई सोमबार ठक्कर दिएको थियो । दुर्घटनाबाट मोटरसाइकलमा सवार बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ बस्ने २५ वर्षीय ढकबहादुर खड्काको मृत्यु भएको हो भने उनका दाइ ३५ वर्षीय मानबहादुर खड्का गम्भीर घाइते भएका थिए ।

सम्बन्धित समाचार

अपडेटःसडक दुर्घटनामा २ को मृत्यु, चक्काजाम खुल्यो

बाँकेको ढकेरीमा भएको दुर्घटनामा एकको मृत्यु ,एक गम्भीर घाइते

  • १८ फाल्गुन २०७७, मंगलवार प्रकाशित

  • Nabintech